काठमाडौँ : चाडपर्वका बेला हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण र नागरिकको सुरक्षालाई प्रभावकारी बनाउन प्रहरी महानिरीक्षक डा.मनोजकुमार केसीले प्रहरी कर्मचारीलाई थप सक्रिय हुन निर्देशन दिएका छन्।
नेपाल प्रहरी प्रधान कार्यालयबाट शुक्रबार भर्चुअल माध्यममा आयोजित निर्देशन सम्बोधनमा उनले दीपावली, नेपाल संवत् र छठलगायतका पर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना लागू गर्नुपर्ने बताएका हुन्।
चाडपर्वको समयमा हुन सक्ने लुटपाट, चोरी तथा अन्य आपराधिक गतिविधि नियन्त्रणका लागि प्रभावकारी प्रहरी परिचालन गर्न उनले निर्देशन दिए। पटका तथा विस्फोटक पदार्थको अवैध कारोबार नियन्त्रण गर्नुका साथै सामाजिक सद्भाव खलल पार्ने गतिविधिप्रति सतर्क रहन पनि उनले आग्रह गरे।
आफ्नो कार्यक्षेत्रमा आवश्यक सुरक्षा योजना बनाएर स्थानीय तह तथा सरोकारवालासँग समन्वय गर्नुपर्नेमा जोड दिँदै केसीले प्रहरी सेवालाई व्यावसायिक, उत्तरदायी र जवाफदेही बनाउन निर्देशन दिए।
प्रदेश तथा जिल्ला प्रहरी प्रमुखलाई सुरक्षा व्यवस्थाको नियमित अनुगमन र निरीक्षण गरी कमजोरी तत्काल सुधार गर्नसमेत उनले निर्देशन दिएका छन्।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |