काठमाडौं : प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा असर पर्ने भन्दै नेपाल पत्रकार महासंघले प्रेस काउन्सिल ऐन, २०४८ संशोधन गर्न बनेको अध्यादेश जारी नगर्न राष्ट्रपति रामचन्द्र पौडेलसँग आग्रह गरेको छ।
महासंघकी अध्यक्ष निर्मला शर्माको नेतृत्वमा शुक्रबार राष्ट्रपति भवन पुगेको पदाधिकारीसहितको टोलीले अध्यादेशका प्रावधान र त्यसले प्रेस स्वतन्त्रतामा पार्न सक्ने प्रभावबारे राष्ट्रपतिको ध्यानाकर्षण गराएको हो।
सरोकारवाला पक्षसँग पर्याप्त छलफल नगरी संसद्लाई छलेर अध्यादेशमार्फत कानुन ल्याउनु लोकतान्त्रिक प्रक्रिया र संविधानको मर्मविपरीत हुने महासंघको ठहर छ। प्रेस स्वतन्त्रतासँग प्रत्यक्ष सरोकार राख्ने कानुन नियमित विधायिकी प्रक्रियाबाट निर्माण हुनुपर्ने उसको माग छ।
समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड भएको घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाही नभएको अवस्थामा सरकारले अध्यादेश ल्याउनु थप चिन्ताजनक भएको महासंघले जनाएको छ।
महासंघले अध्यादेश फिर्ता लिन सरकारसँग माग गर्दै माग सम्बोधन नभए छठ पर्वपछि चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ। महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा संसद्मा बहस पैरवी गर्ने तथा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने निर्णयसमेत उल्लेख छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |