काठमाडौँ : यमपञ्चकको पहिलो दिनका रूपमा आज शनिबार काग तिहार मनाइँदैछ। कात्तिक कृष्ण त्रयोदशीका दिन पर्ने यस पर्वमा कागलाई यमराजको दूतका रूपमा सम्मान गर्दै मीठा परिकार खान दिएर पूजा गर्ने परम्परा छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष डा. पुरुषोत्तम भट्टराईका अनुसार सूर्योदयकालमा त्रयोदशी तिथि परेकाले शास्त्रीय मान्यताअनुसार आज काग तिहार मनाउन लागिएको हो।
धार्मिक मान्यताअनुसार यमराजले कागमार्फत संसारको खबर प्राप्त गर्ने भएकाले कागलाई यमदूत मानिन्छ। कागले यमराजसमक्ष शुभ समाचार पुर्याओस् भन्ने विश्वासका साथ आज उसको पूजा गरी खानेकुरा दिने चलन छ। घरआँगनमा काग कराए शुभ समाचार आउने विश्वाससमेत गरिन्छ।
यस अवसरमा काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका-१ स्थित कागेश्वरी महादेव मन्दिर र हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा विशेष पूजाआराधना गरिन्छ।
यस वर्ष तिथिको घटबढका कारण यमपञ्चक शुक्रबार साँझदेखि नै सुरु भएको हो। धनतेरस पर्व पनि शुक्रबार नै मनाइएको थियो। यमदीपदानको परम्परासमेत शुक्रबार साँझदेखि सुरु भएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |