पोखरा : युवाको आर्थिक भविष्य सुरक्षित गर्न परम्परागत व्यवसायभन्दा स्टार्टअप, प्रविधि र नवप्रवर्तनमा जोड दिनुपर्ने नेपालका लागि पाकिस्तानी राजदूत मोहम्मद अमिर खानले बताएका छन्। नयाँ सोच र सिर्जनशीलतालाई व्यावसायिक स्वरूप दिन सके युवाले आफ्नै देशमा रोजगारी र अवसर सिर्जना गर्न सक्ने उनको भनाइ छ।
पोखरामा आयोजित ‘स्टार्टअप समिट नेपाल २०२६’ लाई सम्बोधन गर्दै राजदूत खानले प्रविधिको विकाससँगै उद्यमशीलताका नयाँ सम्भावना विस्तार भइरहेको बताए। उनले युवालाई नवीन सोच, सिर्जनशीलता र प्रविधिको अधिकतम उपयोग गर्दै व्यवसायमा अघि बढ्न आग्रह गरे।
पाकिस्तानमा पनि प्रविधिमा आधारित स्टार्टअप विकासका अनुभव रहेको उल्लेख गर्दै उनले नेपाल र पाकिस्तानबीचको सहकार्यले उद्यमशीलता प्रवर्द्धनमा नयाँ अवसर खोल्न सक्ने बताए।
विश्वव्यापी प्रतिस्पर्धामा टिक्न व्यवसायलाई बजारको माग र नयाँ प्रविधिसँग जोड्न आवश्यक रहेको उनको भनाइ थियो।
युवालाई उद्यमशीलतातर्फ प्रेरित गर्ने तथा नयाँ व्यावसायिक सम्भावना पहिचान गर्ने उद्देश्यले आयोजित समिटमा पाकिस्तानी राजदूतावासले समेत सहकार्य गरेको उनले जानकारी दिए।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |