बनेपा : नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको आधिकारिकता लागि पैसाको कुनै चलखेल नभएको बताउँदै आरोप लगाउँदैमा प्रमाणित नहुने तर्क गरेका छन् । नेपाली कांग्रेस काभ्रेपलाञ्चोकद्वारा आयोजित रक्तदान तथा बधाई ज्ञापन कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपसभापति शर्माले वर्तमान नेतृत्व कुनै कुरामा नचुकेको दाबी गरे ।
‘ करिव ९ महिना मन्त्री भएका गगन थापा, मन्त्री नै नभएको विश्व प्रकाश शर्माले १८ करोड कसरी र कहाँबाट बुझाउने, बरु पटक पटक पदमा पुगेका साथीहरूमा उतै ९चुनदेवी० हुनुहुन्छ,’ आरोपको खण्डन गर्दै उनले भने, ’ कुनै व्यक्तिले भेट्यो रे, पैसा दियो रे भनिदिएर मात्र हुँदैन, प्रमाणित हुनुपर्छ, बैंक डकैती गर्ने व्यक्तिले कसैलाई पैसा बुझाएँ भन्दैमा अदालतले त्यसलाई प्रमाण मान्छ र ?’
उनले कोईराला – देउवाको समूह पनि कांग्रेसकै हिस्सा भएको भन्दै फुटवलको ‘बेञ्चमा बस्ने अतिरिक्त १५ खेलाडी’ भएको संज्ञा दिए । ‘फिफाले वल्र्डकप खेल्न २६ जनाको लिस्ट माग्छ, ११ जनाले खेल्छन्, १५ जना बेञ्चमा बस्छन्,’कोईराला -देउवाको समूहलाई लक्षित गर्दै उनले भने, ‘उहाँहरु बेञ्चमा बस्ने अतिरिक्त १५ खेलाडी जस्तै हो, उहाँहरु पनि टिमको नै सदस्य हो, मिल्नुको विकल्प छैन ।’ जलवायु परिवर्तनका गम्भीर असरहरू देखिन थालेको र हिमतालको जोखिम बढेको तर्फ ध्यानाकर्षण गराउँदै उनले भने भोटेकोशीको बाढी, महाभूकम्प र कोरोना महामारीका बेला जस्तै विपद्का समयमा राजनीति गर्नु हुँदैन भनेर कांग्रेस ले सरकारलाई सहयोग गरेको बताए । कसैको जीवन रक्षाका लागि रक्तदान अत्यन्तै आवश्यक र पवित्र सामाजिक कार्य भएको भन्दै कार्यक्रम आयोजना गरेकोमा नेपाली कांग्रेस काभ्रेपलाञ्चोकलाई धन्यवाद दिए ।
मधेशमा अशान्ति फैलिन खोज्दा कांग्रेस सभापति गगन थापाले संयम र जिम्मेवारीका साथ परिस्थिति सम्हालेको प्रसङ्ग उल्लेख गर्दै उनले चुनावी हार–जीतलाई सामान्य प्रक्रिया मान्नु पर्ने बताए । ‘चुनाव जित्नु वा हार्नु प्रमुख कुरा होइन, कांग्रेस सधैँ एक जिम्मेवार शक्ति हो ।’ उनले भने ।
उपसभापति मधुप्रसाद आचार्यले कांग्रेसले हरेक कार्यक्रममा सामाजिक क्रियाकलाप जोड्दै आएको र देश सनकको भरमा चल्न नसक्ने बताए । केन्द्रीय सदस्य गणेश लामाले रक्तदानजस्ता फरक र रचनात्मक तरिकाले पार्टीलाई अघि बढाउनुपर्नेमा जोड दिए । केन्द्रीय सदस्य तीर्थ लामाले नेताहरू जुनसुकै पदमा भए पनि जनतासँग जोडिनु नै सुधारिएको कांग्रेसको रूप भएको र काभ्रेलाई पहिलो पार्टी बनाउने अठोट व्यक्त गरे । केन्द्रीय सदस्य महेश खरेलले पार्टी र सिद्धान्त गलत नहुने तर व्यक्तिको गल्तीको आरोप सिङ्गो संस्थामाथि लगाउन नहुने धारणा राखे । कार्यवाहक जिल्ला सभापति गुणराज मुक्तानले नेपाली कांग्रेस अब सत्ताकेन्द्रित नभई पूर्ण रूपमा नागरिककेन्द्रित हुने प्रतिबद्धता जनाए।
कार्यक्रममा नेपाली कांग्रेस काभ्रेमा सचिव माधव ढकाल, प्रतिनिधी सभा क्षेत्र नं १ का सभापति चन्द्रबहादुर लामा, प्रतिनिधी सभा क्षेत्र नं २ का सभापति जितेन्द्रमान तामाङ ९दावा लामा०, जिल्ला सदस्य सनिता न्यौपाने बजगाई लगायतले बदलिएको कांग्रेसले आफ्ना हरेक गतिविधीमा सामाजिक कामलाई जोड्दै जानुपर्ने तर्क गरेका थिए ।
कार्यक्रममा १५ औं महाधिवेशन अन्तर्गत निर्वाचित प्रतिनिधी सभा क्षेत्रीय सभापति, प्रदेश सभा क्षेत्रीय सभापति, पालिका सभापति र वडा सभापतिहरुलाई बधाई ज्ञापन गरिएको थियो ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |