


काठमाडौं : क्षेत्र नम्बर ४ बाट स्वतन्त्र उम्मेदवारी दिएका राजन पुरीले ठूला राजनीतिक नारा र अव्यावहारिक विकासका योजनाभन्दा स्थानीय समस्या समाधानलाई आफ्नो प्रमुख एजेण्डा बनाएको बताएका छन्।
उनले आफू कुनै राजनीतिक पार्टीबाट नआएको, सामान्य नागरिकको रूपमा जनतामाझ आएको दाबी गर्दै तथाकथित “स्वतन्त्र” भनेर आएका कतिपय व्यक्तिहरू कति स्वतन्त्र छन् भन्ने प्रश्न उठाएका छन्। “हामीलाई पानीजहाजको सपना देखाएर होइन, बाढीको समस्या समाधान गरेर देखाउने नेतृत्व चाहिएको छ,” उनले भने।
राजन पुरीका अनुसार क्षेत्र नम्बर ४ का जनतालाई स्विजरल्यान्ड वा सिङ्गापुर बनाउने भाषण आवश्यक छैन, बरु दैनिक जीवनसँग जोडिएका समस्या—विशेषगरी फोहोर व्यवस्थापन, सडकका खाल्डाखुल्डी र वर्षाको पानीको निकास व्यवस्थापन—तत्काल समाधान गर्नुपर्ने अवस्था छ। “घरअगाडि भएको सानो खाल्टो पुर्न नसक्नेले आकाशको पानीको योजना सुनाउनु हास्यास्पद हो,” उनले टिप्पणी गरे।
उनले वर्षायाममा खेर जाने पानीको उचित व्यवस्थापन गर्न सके खानेपानी अभाव न्यूनीकरण गर्न सकिने दाबी गरे। पार्टीका नेताहरू चुनावमा दुई दिन आएर हराउने प्रवृत्ति अन्त्य गर्न आफूले उम्मेदवारी दिएको उनको भनाइ छ।
राजन पुरीले २३ र २४ गतेको आन्दोलनमा ज्यान गुमाएका गरिब बालबालिकाको शवमाथि राजनीति गरिएको आरोप लगाउँदै त्यसप्रति दुःख व्यक्त गरे। “गरिबका सन्तानको मृत्युमा पनि राजनीति गर्ने संस्कार परिवर्तन गर्नुपर्छ,” उनले भने।
युवा रोजगारी आफ्नो अर्को मुख्य एजेण्डा भएको उल्लेख गर्दै उनले क्षेत्र नम्बर ४ बाट मात्र ७० हजारदेखि ८० हजार युवा विदेशिएको दाबी गरे। “युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्न नसक्ने नेतृत्व असफल हो,” उनले भने, “हामी स्थानीय स्रोत र सीपको सदुपयोग गरेर युवालाई आफ्नै भूमिमा अवसर दिन सक्छौं।”
मतदातालाई आफ्नो विवेक प्रयोग गरेर मतदान गर्न आग्रह गर्दै उनले परिवर्तनको नाममा आउने सबै उम्मेदवारलाई चेतावनीसमेत दिएका छन्। “पुकार बमले जित्नु क्षेत्र नम्बर ४ को लागि चुनौतीको विषय हो,” उनले भने, “तर म इमानदारीका आधारमा जित्ने विश्वासका साथ मैदानमा आएको छु।”
राजन पुरीले आफ्नो उम्मेदवारीलाई ‘विकासका ठूला नारा होइन, साना तर वास्तविक काम’ को अभियानका रूपमा व्याख्या गरेका छन्।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |