काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेन जी आन्दोलनका क्रममा भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मा प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने बताएका छन्। सोमबार विज्ञप्ति जारी गर्दै उनले गृहमन्त्रीको राजीनामाले मात्र नपुग्ने भन्दै घटनाको राजनीतिक र नैतिक दायित्व प्रधानमन्त्रीले स्वीकार्नुपर्ने उल्लेख गरेका हुन्।
‘सरकारको असंवेदनशीलताका कारण अनाहकमा धेरै युवाले ज्यान गुमाउनु परेको यो हृदयविदारक घटनाले स्तब्ध बनाएको छ,’ थापाले विज्ञप्तिमा उल्लेख गरेका छन्।
उनले जेन जीले उठाएका मुद्दा आम जनताको सरोकारसँग सम्बन्धित भएको प्रष्ट पार्दै सुशासन सुनिश्चित गर्न भ्रष्टाचार छानबिन र कारबाहीलाई पहिलो प्राथमिकता दिनुपर्ने बताए। संविधानदेखि भ्रष्टाचार निवारण ऐनसम्म आवश्यक संशोधन गरी छिटो काम गर्नुपर्ने उनको भनाइ छ।
साथै, २०४६ सालयता सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्नुपर्ने माग पनि उनले राखेका छन्।