


काठमाडौँ : सिरहाको गोलबजारमा आन्दोलनका क्रममा गणेश यादवको मृत्यु भएको घटनाबारे सत्यतथ्य पत्ता लगाउन खटिएको उच्चस्तरीय छानबिन समितिले स्थलगत अनुसन्धान सकेर प्रतिवेदन लेख्ने तयारी गरेको छ । तीन दिनसम्म सिरहामा रहेर घटनासम्बन्धी प्रमाण, प्रत्यक्षदर्शीका भनाइ र सरोकारवालाको धारणा संकलन गरेको टोली बुधबार काठमाडौं फर्किएको हो।
गृह मन्त्रालयका सहसचिव पुष्पराज शाहीको नेतृत्वमा रहेको समितिले राजनीतिक दल, उद्योग वाणिज्य संघ, स्थानीय समुदाय, सुरक्षा निकाय तथा प्रमुख जिल्ला अधिकारीसँग छुट्टाछुट्टै छलफल गरेको थियो। समितिका सदस्यसचिव तथा गृह मन्त्रालयका उपसचिव कुलशेखर अर्यालका अनुसार आन्दोलनका क्रममा घाइते भएका व्यक्तिलाई धरान पुगेर भेटिएको तथा उपचारमा संलग्न चिकित्सकसँग पनि जानकारी लिइएको छ। चिकित्सकले घाइतेको स्वास्थ्य अवस्था सामान्य रहेको र दुई–तीन दिनभित्र अस्पतालबाट डिस्चार्ज गरिने बताएका छन्।
समितिले सोमबार घटनास्थलको निरीक्षण र मंगलबार गोलबजार नगरपालिकामा बसेको सर्वदलीय बैठकबाट प्राप्त सुझावसमेत प्रतिवेदनमा समेट्ने तयारी गरेको छ। गृह मन्त्रालयले दिएको समयसीमाभित्र विस्तृत प्रतिवेदन बुझाइने समितिले जनाएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |