

काठमाडौँ : नेपाल टेलिकम अब केवल दूरसञ्चार सेवा प्रदायक नभई राज्यको डिजिटल मेरुदण्ड बनेको गृहमन्त्री ओमप्रकाश अर्यालले बताएका छन्।
नेपाल टेलिकमको २२ औँ वार्षिकोत्सवको अवसरमा बिहीबार आयोजित कार्यक्रममा गृहमन्त्री अर्यालले टेलिकमले हिमालदेखि तराईसम्म सञ्चार पहुँच विस्तार गरेको र प्राकृतिक विपद्, महामारी तथा आपतकालीन अवस्थामा दिएको योगदान प्रशंसनीय रहेको बताए। उनले आज टेलिकम केवल सेवा प्रदायक नभई मानव जीवनको आधारभूत आवश्यकता, शिक्षा, सामाजिक र आर्थिक विकासको महत्वपूर्ण पूर्वाधार बनेको बताए।
गृहमन्त्रीले सन्तुष्ट ग्राहकलाई कम्पनीको दिगो विकासको आधार भन्दै कम्पनीले गुणस्तरीय सेवा र नवीनतम प्रविधिमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए। साथै टेलिकमको सेवा विस्तार, डिजिटल साक्षरता प्रवर्द्धन, विद्युतीय सरकारको कार्यान्वयन र ज्ञानमा आधारित समाज निर्माणले राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान पुर्याइरहेको पनि उनले बताए।
उहाँले आगामी दिनमा पनि ग्राहक सन्तुष्टि केन्द्रमा राख्दै अत्याधुनिक सेवा प्रवाह हुनेमा विश्वास व्यक्त गर्नुभयो।
