


काठमाडौँ : निर्माण व्यवसायीहरूले भोग्दै आएका भुक्तानी, म्याद थप, ठेक्का व्यवस्थापन, मूल्य समायोजन र बैंकिङ समस्यालाई लिएर नेपाल निर्माण व्यवसायी महासंघले बिहीबार प्रधानमन्त्री बालेन्द्र शाहसँग छलफल गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा महासंघका पदाधिकारीहरूले निर्माण क्षेत्रको विद्यमान समस्या समाधानका लागि सरकारबाट तत्काल नीतिगत सहजीकरण र प्रभावकारी कार्यान्वयन आवश्यक रहेको धारणा राखे। उनीहरूले समयमै आयोजना सम्पन्न गर्न सहज वातावरण निर्माण गर्न आग्रह गरेका थिए।
जवाफमा प्रधानमन्त्री शाहले निर्माण क्षेत्र मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना र पूर्वाधार विस्तारको प्रमुख आधार भएकाले यस क्षेत्रका व्यावहारिक समस्या समाधानमा सरकार सकारात्मक रहेको बताए। उनले निर्माण व्यवसायलाई मर्यादित, पारदर्शी, जिम्मेवार र परिणाममुखी बनाउनुपर्नेमा जोड दिँदै विकास आयोजनाहरू समयमै सम्पन्न गर्न सरकार, निजी क्षेत्र र सरोकारवालाबीच प्रभावकारी समन्वय अपरिहार्य रहेको उल्लेख गरे।
छलफलमा निर्माण उद्योगलाई चलायमान बनाउन सरकार र निजी क्षेत्रबीचको सहकार्य अझ सुदृढ बनाउनुपर्ने विषयमा पनि दुवै पक्षबीच सहमति व्यक्त भएको थियो।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |