


काठमाडौं : सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ। प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल सुरु हुने भएको छ भने राष्ट्रियसभामा बजेटमाथिको सामान्य छलफल अघि बढाइनेछ।
संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयका बजेट शीर्षकमाथि समूहगत छलफल गर्ने कार्यसूची छ। आज युवा तथा खेलकुद, श्रम तथा रोजगार, उद्योग–वाणिज्य तथा आपूर्ति, कृषि, वन तथा वातावरण, सञ्चार तथा सूचना प्रविधि, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, सङ्घीय मामिला तथा सामान्य प्रशासन तथा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँग सम्बन्धित बजेटमाथि छलफल हुने सचिवालयले जनाएको छ।
यता राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्नेछ। बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सामान्य छलफललाई निरन्तरता दिइनेछ। छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ अर्थमन्त्री स्वर्णिम वाग्ले ले दिने कार्यसूची रहेको सचिवालयले जनाएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |