


काठमाडौँ : प्रमुख निर्वाचन आयुक्तमा सिफारिस भएका मानबहादुर कार्कीको संसदीय सुनुवाइ आज हुँदैछ। संसदीय सुनुवाइ समितिको बिहान सवा ११ बजे सिंहदरबारमा बस्ने बैठकमा कार्कीविरुद्ध परेका उजुरीमाथि छलफल गर्दै उनको योग्यता, संवैधानिक दायित्व निर्वाह गर्ने क्षमता र नैतिक आचरणबारे प्रश्नोत्तर गरिने संघीय संसद् सचिवालयले जनाएको छ।
समितिले प्रारम्भमा उजुरीकर्तासँग छलफल गर्ने र त्यसपछि कार्कीलाई उपस्थित गराई सुनुवाइ प्रक्रिया अघि बढाउनेछ। कार्कीको नियुक्ति प्रक्रियाको पारदर्शिता, संवैधानिक पदका लागि आवश्यक योग्यता र नैतिक आचरणबारे प्रश्न उठाउँदै समितिमा उजुरी दर्ता भएको छ।
यसअघि मंगलबार निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बाको सुनुवाइ सम्पन्न भइसकेको छ। संवैधानिक परिषद्को असार १९ गतेको बैठकले प्रमुख निर्वाचन आयुक्तमा कार्की तथा आयुक्तमा वाग्ले र सुब्बाको नाम सिफारिस गरेको थियो। संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि उनीहरूको नियुक्ति राष्ट्रपतिबाट हुनेछ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |