


सुर्खेत : कर्णाली प्रदेशमा सत्ता समीकरण परिवर्तनसँगै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका नेता मंगलबहादुर शाही मुख्यमन्त्री नियुक्त भएका छन्। नेकपा (एमाले)को समर्थनमा सरकार गठनका लागि दाबी पेस गरेका शाहीलाई प्रदेश प्रमुख यज्ञराज जोशीले संविधानको धारा १६८ (२) बमोजिम मंगलबार मुख्यमन्त्री नियुक्त गरेका हुन्।
शाहीले मंगलबार अपराह्न प्रदेश प्रमुखसमक्ष सरकार गठनको दाबी पेस गरेका थिए। प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी मनमाया काउचाका अनुसार नवनियुक्त मुख्यमन्त्री शाहीको शपथग्रहण बुधबार हुने कार्यक्रम तय भएको छ।
नेकपा र एमालेबीच साउन ९ गते राष्ट्रिय तहमा भएको सत्ता साझेदारीसम्बन्धी सहमतिअनुसार कर्णालीमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढाइएको हो। सोही सहमतिका आधारमा एमालेको समर्थनमा शाही मुख्यमन्त्री बनेका हुन्। नयाँ सरकार गठनसँगै मन्त्रिपरिषद् विस्तार, मन्त्रालयको बाँडफाँट र साझा न्यूनतम कार्यक्रमलाई अन्तिम रूप दिने तयारीसमेत सुरु हुने अपेक्षा गरिएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |