


काठमाडौं : सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका विभिन्न दलका मुख्य सचेतक र सचेतकसँग आगामी साउन १४ गतेदेखि सुरु हुने संसद् बैठकलाई प्रभावकारी, व्यवस्थित र मर्यादित रूपमा सञ्चालन गर्ने विषयमा छलफल गरेका छन्। छलफलमा सरकारले पर्याप्त विधेयकसहितको ‘बिजनेस’ उपलब्ध गराउने, सदनलाई परिणाममुखी बनाउने तथा दलहरूबीच देखिएका असहमतिलाई सहमतिमा टुंग्याउने विषयमा केन्द्रित भएर छलफल भएको हो।
छलफलपछि रास्वपाका सचेतक प्रकाशचन्द्र परियारले संसद्को गरिमा र मर्यादा कायम राख्दै जनअपेक्षा सम्बोधन गर्न सबै दल जिम्मेवार हुनुपर्नेमा जोड दिए। सरकारले पर्याप्त ‘बिजनेस’ दिने प्रतिबद्धता जनाएको उल्लेख गर्दै दसैँअघिसम्म नियमित रूपमा सदन सञ्चालन गर्ने विषयमा पनि छलफल भएको उनले बताए।
नेकपाका सचेतक युवराज दुलालले सरकारले पटक-पटक प्रतिबद्धता जनाए पनि आवश्यक विधेयक दर्ता गर्न नसकेको भन्दै तत्काल विधेयक ल्याउन आग्रह गरे। रास्वपाकी सचेतक क्रान्तिशिखा धितालले सत्तापक्ष र विपक्षबीच देखिएका मतभेद तीन–चार दिनभित्र समाधान गरी सदनलाई शान्तिपूर्ण र प्रभावकारी ढंगले सञ्चालन गर्ने विश्वास व्यक्त गरिन्।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |