

काठमाडौँ : नेपाल भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले आज प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्ने भएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार उक्त भेटघाट मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा हुने तय भएको छ।
प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा चार दिने नेपाल भ्रमणमा आएका भारतीय सेनाध्यक्षलाई सोमबार शीतल निवासमा आयोजित विशेष समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ सेनापतिको महारथी दर्जा प्रदान गरेका थिए।
भारतीय सेनाको नेतृत्व सम्हालेपछि पहिलो औपचारिक विदेश भ्रमणका क्रममा नेपाल आएका सेनाध्यक्ष द्विवेदीले भ्रमणका क्रममा रक्षा र सैन्य मामिलामा केन्द्रित रहेर उच्चस्तरीय भेटवार्ता गरिरहेका छन्। नेपाल र भारतका सेना प्रमुखलाई एक(अर्काको देशमा मानार्थ सेनापतिको सम्मान दिने छ दशकभन्दा लामो परम्परा रहँदै आएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |