काठमाडौँ : सार्वजनिक जग्गा सट्टापट्टा गरी बिक्री गरेको आरोपमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र कांग्रेस नेता मिनेन्द्र रिजालसहित ९४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इटहरीस्थित रिजाल टासी इन्डस्ट्रिजको हदबन्दीभन्दा बढी जग्गा सट्टापट्टा गर्ने प्रयोजनका लागि मन्त्रिपरिषद्बाट निर्णय गराई बिक्री गरिएको प्रकरणमा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आयोगले उक्त प्रकरणमा कुल ७६ करोड रुपैयाँ बिगो कायम गरी प्रतिवादीहरूबाट असुलउपर गर्न मागदाबी गरेको छ । मुद्दामा ९४ जना प्रतिवादी रहेकामा ५३ जनालाई जग्गा जफत गर्ने प्रयोजनका लागि मात्र विपक्षी बनाइएको छ ।
प्रकरणमा तत्कालीन मुख्यसचिव माधव घिमिरेको निधन भइसकेकाले उनका परिवारका सदस्यलाई समेत विपक्षी बनाइएको छ । तत्कालीन भूमिसुधार सचिव तथा पूर्वमन्त्री छविराज पन्तलगायतका व्यक्ति पनि प्रतिवादी सूचीमा छन् ।
मन्त्रिपरिषद्को निर्णयबाट भएको जग्गा सट्टापट्टा र बिक्री प्रक्रियालाई लिएर अख्तियारले भ्रष्टाचारको कसुरमा अनुसन्धान अघि बढाएको हो ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |