काठमाडौं : माबिलुङ एनर्जी लिमिटेडले आज साउन २६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन सुरु गरेको छ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन गरिएको शेयर बाँडफाँटपछि कम्पनीले दोस्रो चरणमा आईपीओ सार्वजनिक गर्न लागेको हो।
कम्पनीले जारी पूँजीको ४८.९९९८ प्रतिशत अर्थात १८ लाख ९० हजार ५३० कित्ता शेयर निष्कासनको स्वीकृति पाएकोमा यसअंतर्गत १३ लाख ५४ हजार २३५ कित्ता शेयर यस चरणमा बिक्री हुनेछन्। ३० हजार ९५ कित्ता कर्मचारी, ७५ हजार २३६ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएका छन् भने बाँकी १२ लाख ४८ हजार ९०४ कित्ता सर्वसाधारणका लागि खुला छन्।
आईपीओमा न्यूनतम १० र अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। बिक्री छिटोमा साउन २९ र ढिलोमा भदौ ९ गते बन्द हुनेछ। इक्रा नेपालले कम्पनीलाई ‘सिंगल बी प्लस’ रेटिङ प्रदान गरेको छ। कम्पनीले ४.९५ मेगावाटको माथिल्लो पिलुवाखोला–३ जलविद्युत आयोजना सञ्चालन गर्दै आएको छ।