काठमाडौं : नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले युवा पुस्ताको आकांक्षा अनुसार शासन सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
जेन–जी आन्दोलनको सन्दर्भमा बोल्दै उनले युवा पुस्ताले २७ घण्टाको ऐतिहासिक आन्दोलनमार्फत नेपालमा नै नयाँ राजनीतिक युगको थालनी गरेको उल्लेख गर्दै, आफू पनि यही पुस्ताको सोच अनुसार अघि बढ्ने बताएकी हुन् । प्रधानमन्त्री पदको दायित्व सम्हाल्दै, उनले भ्रष्टाचारको अन्त्य, सुशासन र आर्थिक समानताको स्थापना जेनजी आन्दोलनको केन्द्रीय एजेन्डा भएकाले ती माग पुरा गर्नु नै सरकारको प्राथमिकता हुने उनको भनाइ छ ।
प्रधानमन्त्री कार्कीले आन्दोलनका क्रममा भएका जनधनको क्षतिप्रति मूल्याङ्कन गर्दै, तिनको समाधानतर्फ सरकारको ध्यान केन्द्रित हुने पनि बताइन् । उनले आफूले आन्दोलनका क्रममा ज्यान गुमाएका परिवारहरूसँग भेट गरिसकेको बताउँदै, उनीहरूको पीडा सम्बोधन गर्ने कार्य प्राथमिकतामा रहेको स्पष्ट पारिन् ।