


काठमाडौँ : भारतले लिपुलेक र आसपासका क्षेत्रबारे नेपालको दाबीलाई अस्वीकार गर्दै आफ्नो अडान पुनः दोहोर्याएको छ ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले शुक्रबार जारी विज्ञप्तिमा लिपुलेक हुँदै हुने कैलाश मानसरोवर यात्रालाई ‘दशकौँदेखि चलिआएको पुरानो अभ्यास’ भएको बताएका छन् । सन् १९५४ देखि उक्त मार्ग प्रयोगमा रहेको उल्लेख गर्दै उनले यसलाई नयाँ विषयका रूपमा प्रस्तुत गर्नु उचित नहुने धारणा राखेका छन् ।
नेपालले हालै दिएको प्रतिक्रियापछि आएको भारतीय भनाइमा लिम्पियाधुरा, लिपुलेक र कालापानीसम्बन्धी नेपालको नक्सा तथा दाबीलाई ‘एकतर्फी’ र ‘ऐतिहासिक आधारविहीन’ ठहर गरिएको छ । ती क्षेत्रमाथि नेपालको दाबी प्रमाणले पुष्टि गर्न नसकिने भारतको जिकिर छ ।
यद्यपि, भारतले सीमा विवाद समाधानका लागि नेपालसँग संवाद जारी राख्ने प्रतिबद्धता दोहोर्याएको छ । द्विपक्षीय सम्बन्धलाई ध्यानमा राख्दै आपसी वार्ताबाट समस्या समाधान गर्न सकिने संकेत पनि विज्ञप्तिमा गरिएको छ ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |