काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सुशीला कार्की नेतृत्वको सरकारलाई अस्वीकार गरेका छन्। उनले पुरानो राज्य प्रणालीलाई जस्ताको तस्तै राखेर मुलुकको समस्या समाधान नहुने बताएका छन्।
सोमबार जारी विज्ञप्तिमा विप्लवले जेन–जीको विद्रोहपछि बनेको जेन–एक्स सरकार समस्याको निकास नबन्ने ठहर गरे। उनले यो सरकारलाई जनताले पनि अस्वीकार गर्ने दाबी गरे।
‘हामीले पहिले नै सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्ने भनेका थियौं,’ विज्ञप्तिमा भनिएको छ, ‘तर आन्दोलनरत शक्ति, नागरिक समाज र संघर्षरत दलहरूको सुझाव बेवास्ता गरिएको छ।’ विप्लवका अनुसार यसमा गैरदलिय र गैरवामपन्थी सोचले भूमिका खेलेको छ।
उनले भ्रष्टाचार, राष्ट्रघात, तस्करी र दलालीविरुद्ध लामो समयदेखि लडिरहेका शक्तिलाई पाखा लगाइनु समस्या समाधान होइन, बरु संक्रमणकाल लम्ब्याउने काम मात्र भएको आरोप लगाए।
विप्लवले मुलुकलाई निकास दिन राज्यको पुनःसंरचना र संविधानको पुनःलेखन अपरिहार्य भएको उल्लेख गरे। ‘सिर्फ सरकार वा मन्त्रिमण्डल होइन, सम्पूर्ण राज्य नै पुनःनिर्माण गर्नुपर्ने हुन्छ,’ उनले भने।
अबको विकल्प नेपाली विशेषताको समाजवाद रहेको भन्दै उनले जनतालाई अग्रगामी रुपान्तरण र राष्ट्रिय स्वाधीनताको चुनौतीप्रति सचेत रहन आह्वान गरेका छन्।