


काठमाडौँ : नेपाली कांग्रेसभित्र समानान्तर गतिविधि सञ्चालन गर्दै आएको इतर समूहले राष्ट्रिय भेला तयारीलाई औपचारिक रूप दिँदै ५५१ सदस्यीय राष्ट्रिय भेला आयोजक समिति गठन गरेको छ। समितिको संयोजकमा नेता डा। शशांक कोइरालालाई चयन गर्दै समूहले पार्टीभित्र सहमतिको प्रयास निष्फल भएपछि वैकल्पिक राजनीतिक बाटो रोज्न बाध्य भएको जनाएको छ।
साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा हुने राष्ट्रिय भेलालाई लक्षित गर्दै समूहले १६ वटा उपसमिति गठन गर्ने निर्णय पनि गरेको छ। भेलासम्म पनि पार्टीभित्र कुनै ठोस राजनीतिक सहमति नभए नयाँ राजनीतिक दल दर्तासम्मको तयारी रहेको नेताहरूले बताएका छन्।
समितिको नेतृत्व शशांकलाई दिइएपछि सम्भावित नयाँ राजनीतिक यात्राको नेतृत्व पनि उनैले गर्ने संकेतका रूपमा यसलाई हेरिएको छ। समूहले डा। शेखर कोइरालाको समेत नैतिक समर्थन रहेको दाबी गरेको छ, यद्यपि उनी कार्यक्रममै उपस्थित थिएनन्।
यता आयोजक समितिमा आफ्नो सहमतिबिना नाम समावेश गरिएको भन्दै केही नेताले आपत्ति जनाएका छन्। राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघका अध्यक्ष माधवप्रसाद चम्लागाईंले वैधानिक पार्टी संरचनाबाहिरका गतिविधिमा आफू सहभागी नहुने स्पष्ट पारेका छन्।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |