


काठमाडौं : साउदी अरबले नेपाली श्रमिकका लागि अनिवार्य बनाउन खोजेको ‘स्किल्स भेरिफिकेसन प्रोग्राम’ (एसभीपी) वैदेशिक रोजगार व्यवसायीको तीव्र विरोधपछि तत्कालका लागि स्थगित भएको छ। बुधबार काठमाडौंको बसुन्धरास्थित सिप परीक्षण केन्द्रबाट कार्यक्रम सुरु गर्ने तयारी भइरहेका बेला व्यवसायीहरू प्रदर्शनमा उत्रिएपछि उद्घाटन कार्यक्रम प्रभावित बनेको हो।
व्यवसायीहरूले नेपाल सरकारसँग पर्याप्त समन्वय र सहमति नगरी एकतर्फी रूपमा लागू गर्न खोजिएको व्यवस्था स्वीकार्य नभएको बताएका छन्। उनीहरूले कार्यक्रमस्थलमा पुगेर नाराबाजी गर्नुका साथै सिप प्रमाणीकरणसम्बन्धी बोर्डसमेत हटाएका थिए। विरोधका कारण उद्घाटन समारोहमा सहभागी हुने तय भएका नेपालका लागि साउदी राजदूत पनि कार्यक्रममा उपस्थित हुन सकेनन्।
नयाँ व्यवस्था अनुसार साउदी रोजगारीमा जाने श्रमिकले सिप परीक्षण र पूर्वसिकाइ मान्यता (आरपीएल) शुल्क गरी करिब १५ हजार रुपैयाँ अतिरिक्त खर्च गर्नुपर्ने थियो। साउदी पक्षले सिप परीक्षण उत्तीर्ण नभएसम्म भिसा जारी नगर्ने जनाएको थियो। व्यवसायीको विरोधपछि इन्डस्ट्रियल ट्रेनिङ इन्स्टिच्युट नेपालले कार्यक्रम हाललाई स्थगित गरिएको जनाएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |