


काठमाडौँ : दुई समुदायबीचको झडप र प्रहरीको गोलीबाट एक जनाको मृत्यु भएपछि अशान्त बनेको सुनसरीको इनरुवा र पूर्व पश्चिम राजमार्ग क्षेत्रमा लगाइएको कर्फ्यू हटाइएको छ। स्थिति क्रमिक रूपमा सामान्य बन्दै गएको र राजमार्ग सञ्चालन सहज बनाउन मंगलबार बिहानैदेखि कर्फ्यू हटाइएको सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछानेले जानकारी दिए।
देवानगन्ज र हरिनगर गाउँपालिकामा भने सुरक्षा चुनौती कायमै रहेकाले कर्फ्यू निरन्तर जारी छ। सो क्षेत्रमा बिहानैदेखि नेपाली सेनाले गस्ती गरिरहेको छ। सोमबारको सर्वपक्षीय सहमतिपछि आज केही स्थानमा सामाजिक सद्भाव र्याली निकालिँदै छ।
यसैबीच, घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयद्वारा गठित भूपेन्द्र थापा नेतृत्वको उच्चस्तरीय समिति विराटनगर पुगेको छ। समितिले विराटनगरस्थित न्युरो अस्पतालमा उपचाररत घाइतेहरूसँग बयान लिनुका साथै घटनाको प्रारम्भिक अनुसन्धान सुरु गरिसकेको जनाएको छ। आइतबार राति कप्तानगन्जमा झडप हुँदा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि विरोध प्रदर्शन पूर्वका विभिन्न सहरसम्म फैलिएको थियो।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |