


इटहरी : सुनसरीमा साम्प्रदायिक तनावपछि लगाइएको अनिश्चितकालीन कर्फ्यु हटाइएको छ। जिल्ला प्रशासन कार्यालयले कर्फ्यु हटाए पनि सुरक्षा अवस्थालाई मध्यनजर गर्दै अर्को सूचना जारी नभएसम्म पाँच जनाभन्दा बढी व्यक्ति एकै स्थानमा भेला हुन नपाउने गरी निषेधाज्ञा भने यथावत् राखेको छ।
प्रमुख जिल्ला अधिकारी इन्द्रप्रसाद अर्यालका अनुसार साउन १२ गते राति ९ बजेदेखि लागू गरिएको कर्फ्यु शुक्रबार बिहान ८ः३० बजेदेखि हटाइएको हो। स्थानीय प्रशासन ऐन, २०२८ अनुसार जारी निषेधाज्ञा सुनसरीका प्रभावित नौ स्थानीय तहमा लागू रहने उनले बताए।
देवानगन्जमा दुई समुदायबीच भएको झडपपछि सशस्त्र प्रहरीको गोली लागेर ओमप्रकाश मेहताको मृत्यु भएको थियो भने १० जना घाइते भएका थिए। घाइतेमध्ये जयप्रकाश मेहताको उपचारका क्रममा मृत्यु भएपछि सुनसरीका विभिन्न स्थानमा तोडफोड र आगजनी भएको थियो। घटनाको विरोधमा मधेश प्रदेशका विभिन्न जिल्लामा प्रदर्शनसमेत भएका थिए। यसक्रममा सिरहाको लहानमा गोली लागेर गणेश यादवको मृत्यु भएको थियो। गृह मन्त्री सुधन गुरुङ र पीडित परिवारबीच भएको सहमतिपछि देवानगन्ज घटनाका मृतकहरूको अन्त्येष्टि गरिएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |