


देवानगन्ज घटनापछि उत्पन्न तनाव समाधानका लागि सरकार र हिन्दुवादी सङ्गठनबीचको वार्ता दोस्रो चरणमा प्रवेश गरेको छ। पहिलो चरण निष्कर्षविहीन बनेपछि करिब तीन घण्टाको अन्तरालपछि राति ८ बजेदेखि पुनः वार्ता सुरु भएको हो। दोस्रो चरणमा मधेश प्रदेश सरकार औपचारिक रूपमा सहभागी भएसँगै सहमतिको प्रयासलाई तीव्र बनाइएको छ।
पहिलो चरणमा गृहमन्त्री सुधन गुरुङले हिन्दुवादी सङ्गठनका प्रतिनिधिसँग सीमित टोलीमा छलफल गरेका थिए। दोस्रो चरणमा भने मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव, अर्थमन्त्री युवराज भट्टराई तथा गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतो सहभागी छन्।
वार्तामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका उच्च अधिकारीसँगै धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेललगायत सुरक्षा निकायका प्रतिनिधिको पनि सहभागिता छ। हिन्दु सम्राट सेना नेपालका अध्यक्ष पंकजकुमार साह नेतृत्वको टोलीले सरकारसमक्ष १५ बुँदे मागपत्र प्रस्तुत गरेको छ। मागपत्रमा घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही, मृतकका परिवारलाई क्षतिपूर्ति, घाइतेको निःशुल्क उपचार तथा नेपाललाई वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने माग समेटिएका छन्। ती मागबारे दुवै पक्षबीच छलफल जारी छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |