


काठमाडौं : जिल्ला होटल व्यवसायी संघ काठमाडौं को सातौं वार्षिक साधारण सभा तथा वार्षिक उत्सव शनिबार काठमाडौंको पवेरा हेरिटेज बुटिक होटल, बुढानिलकण्ठमा सम्पन्न भएको छ।
२०७४ सालपछि काठमाडौं जिल्लाभित्रका होटल व्यवसायीहरूको हकहित संरक्षण, व्यवसाय प्रवर्द्धन र पर्यटन विकासका क्षेत्रमा सक्रिय संघले वार्षिक उत्सवसँगै साधारण सभा आयोजना गरेको हो। संघले व्यवसायी सुरक्षा, नीति–संवाद र समन्वयात्मक भूमिकामार्फत पर्यटन क्षेत्रको संस्थागत विकासमा योगदान पुर्याउँदै आएको जनाएको छ।
कार्यक्रममा संघका अध्यक्ष सुरेश बरालको सभापतित्व तथा दीपकराज जोशी (प्रमुख कार्यकारी अधिकृत, नेपाल पर्यटन बोर्ड) को प्रमुख आतिथ्य रहेको थियो। त्यसैगरी दिनेश चुके (अध्यक्ष, होटल व्यवसायी महासंघ नेपाल), साजन शाक्य (महासचिव, होटल संघ नेपाल) तथा दामोदर नेपाल (अध्यक्ष, होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेश) लगायतको उपस्थिति थियो।
प्रमुख अतिथि जोशीले अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालन भइरहेको सहायता कक्षलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउँदै पर्यटन प्रवर्द्धनका कार्यक्रममा संघसँग सहकार्य सुदृढ गरिने बताए। होटल व्यवसायी पर्यटन क्षेत्रका आधारस्तम्भ भएकाले राज्य र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य रहेको उनको भनाइ थियो।
खुल्ला सत्रमा अन्तर्राष्ट्रिय विमानस्थल सहायता कक्ष निर्माण तथा सञ्चालनमा सहयोग पुर्याउने संघ–संस्था र व्यक्तित्वलाई सम्मान गरिएको थियो।
यस अवसरमा नव निर्वाचित इकाइ कमिटीका पदाधिकारीलाई बधाई दिइएको छ। बालाजु होटल व्यवसायी संघ का अध्यक्ष सूर्यबहादुर खाती, एकता होटल तथा गेष्ट हाउस व्यवसायी संघ, गौशाला का अध्यक्ष सरोज आले तथा काठमाडौं होटल व्यवसायी संघ का अध्यक्ष ध्रुव कार्की नेतृत्वको कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिइएको थियो।
बन्द सत्रमा संघको विधानमा आवश्यक संशोधन गरिएको छ। महासचिव शैलेन्द्र विक्रम थापाले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन तथा कोषाध्यक्ष शालिकराम थापाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित भएको संघले जनाएको छ।
समापन मन्तव्यमा अध्यक्ष बरालले संघलाई एकीकृत र परिणाममुखी ढंगले अघि बढाइने बताए।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |