


काठमाडौँ : नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीभित्र देखिएको विवाद अन्त्य गर्दै एकता कायम गर्ने उद्देश्यसहित पाँचबुँदे प्रस्ताव सार्वजनिक गरेको छ।
निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा बसेको बैठकपछि प्रस्ताव सार्वजनिक गर्दै इतर समूहले संस्थापन पक्षले भ्रमपूर्ण प्रचार गरेको आरोप पनि लगाएको छ।
प्रस्तावमा १४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यलाई विशेष महाधिवेशनबाट चयन हुने कार्यसमितिसँग समायोजन गरी सभापति गगनकुमार थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति पूर्णता दिने उल्लेख छ। कार्यसम्पादन समिति सभापतिको बहुमत रहने गरी गठन गर्ने, पुनर्गठित कार्यसमितिबाट १५औँ महाधिवेशनको कार्यतालिका घोषणा गर्ने र महाधिवेशनसम्बन्धी समितिहरू वर्तमान संस्थापन पक्षको बहुमत रहने गरी बनाउने प्रस्ताव गरिएको छ।
यस्तै, क्रियाशील सदस्यतासम्बन्धी विवाद टुंग्याउन गगन थापा नेतृत्वको तत्कालीन समितिले स्वीकृत गरेका सबै सदस्यलाई १५औँ महाधिवेशनमा स्वतः सहभागी गराई डिजिटल अभिलेखीकरण गर्ने तथा त्यसलाई नवीकरणसँग नजोड्ने प्रस्ताव पनि इतर समूहले अघि सारेको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |