


काठमाडौँ : नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको एकता कायम गर्दा विशेष महाधिवेशनबाट पारित विचार र राजनीतिक आदर्शलाई केन्द्रमा राख्नुपर्ने बताएका छन्। सर्वोच्च अदालतको पछिल्लो आदेशपछि पार्टीमा एकताका लागि दबाब बढिरहेका बेला उनले विचार र आत्मा गुमाएर हुने एकता दीर्घकालीन नहुने संकेत गरेका हुन्।
भक्तपुरमा आयोजित कार्यक्रममा थापाले कांग्रेसलाई कुनै पनि हालतमा विभाजित हुन नदिने, तर त्यसका लागि पार्टीको आत्मा र आदर्शलाई कमजोर नपारिने बताए। उनले विशेष महाधिवेशनबाट पारित निर्णय र विचारलाई आधार बनाएर पार्टीलाई एकताबद्ध बनाउने धारणा राखे।
एकताका लागि आवश्यक पहलस्वरूप शनिबार पदाधिकारी बैठक बस्ने र आइतबारदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकबाट आवश्यक निर्णय गरिने उनले जानकारी दिए।
थापाले कांग्रेसलाई कार्यकर्ता र समर्थकले गर्वका साथ आफ्नो पार्टी भन्न सक्ने बनाउनुपर्ने बताए। कांग्रेसको झोले भनेर चिनिनुपरे पनि त्यसलाई गर्वका साथ स्वीकार गर्न सक्ने वातावरण पार्टीभित्र बनाउनुपर्ने उनको भनाइ थियो।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |