


काठमाडौँ : नेपाली समाजमा खस र आर्य समुदायको ऐतिहासिक पहिचानलाई लिएर अनेकौँ तर्क र बहसहरू भइरहेका बेला पर्व समय सुधार राष्ट्रिय समाजका केन्द्रीय सदस्य किशोर रेमीले खस र आर्य फरक समुदाय नभई एउटै मूलका दाजुभाइ र नेपालकै भूमिपुत्र (आदिवासी) भएको दाबी गरेका छन्। ऐतिहासिक तथा पौराणिक प्रमाणका आधारमा यी दुवै समुदाय चार हजार वर्षभन्दा अघिदेखि नै यसै क्षेत्रमा बसोबास गर्दै आएको उनको दाबी छ ।
भौगोलिक र ऐतिहासिक विकासक्रमको व्याख्या गर्दै रेमीले प्राचीन मानव सभ्यताको प्रवासका क्रममा खैबर भञ्ज्याङबाट फुटेका दुई समूह नै पछि खस र आर्यका रूपमा विकास भएको स्पष्ट पारे। ‘प्राचीनकालमा खैबर भञ्ज्याङबाट एउटा समूह रुखो जमिन र हिमाली भेगतर्फ लाग्यो, जसले भेडाबाख्रा पाल्दै मानसरोवर हुँदै जुम्ला प्रवेश गर्यो। उनीहरू नै खस हुन्,’ रेमीले भने,-‘अर्को समूह दक्षिणको हराभरा भूभागतिर लाग्यो, जसले गाईपालन, कृषि र वैदिक संस्कृति अपनाउँदै हिमालयको दक्षिण भेगबाट पूर्वतर्फ विस्तार भयो। उनीहरू आर्य हुन्।’
कालान्तरमा जुम्लाको खस राज्य स्थापना भइसकेपछि यी दुवै दाजुभाइको पुनर्मिलन भएको उल्लेख गर्दै उनले खसहरूले प्राकृतिक शक्ति र मस्ट भगवानको पूजा गरेको तथा आर्यहरूले वेद, पुराण र गायत्री मन्त्रको रचना गरी लिखित दस्तावेज समृद्ध बनाएको बताए। लडाकू र क्षत्रीय स्वभावका खस तथा प्राज्ञिक परम्पराका आर्यहरू जुम्लामा सहअस्तित्वका साथ घुलमिल भएर बसेको इतिहास रहेको उनले बताए।
हिमवत्खण्डमा रचना गरिएका वेद र पुराणका आधारमा खस आर्य नेपालकै मौलिक आदिवासी भएको ठोकुवा गर्दै उनले विद्वान्हरूबीच फरक फरक मत रहे पनि यो भूमिको प्राचीन इतिहासले यही सत्य पुष्टि गर्ने दाबी गरे।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |