


काठमाडौं : पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार गरेको आरोपमा दायर मुद्दामा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की १५ लाख रुपैयाँ धरौटीमा रिहा हुने भएका छन्। विशेष अदालतले उनलाई धरौटी बुझाएर तारेखमा रही मुद्दाको पुर्पक्ष गर्न अनुमति दिएको हो।
विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले तत्काल प्राप्त प्रमाण र परिस्थितिको विश्लेषण गर्दा कार्कीलाई थुनामै राखेर मुद्दा अघि बढाउन आवश्यक नदेखिएको निष्कर्ष निकालेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्कीविरुद्ध ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको थियो। कार्की अर्थमन्त्री रहेका बेला पोखरा विमानस्थलका ठेकेदार चिनियाँ कम्पनी चाइना सीएएमसी इन्जिनियरिङलाई भ्याटलगायत महसुलमा उन्मुक्ति दिने गरी ‘इम्प्लिमेन्टेसन एग्रिमेन्ट’मा प्रावधान राख्दा राज्यलाई ठूलो हानि पुगेको अख्तियारको दाबी छ।
कार्कीले भने आफूले नयाँ प्रावधान नराखेको र नेपाल–चीनबीचको ऋण सम्झौता कार्यान्वयन मात्र गरेको जिकिर गर्दै आएका छन्। धरौटी बुझाउन नसके उनलाई कारागार पठाउन अदालतले आदेश दिएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |