


दक्षिण ललितपुरको भूगोल, इतिहास र समाजसँग नजिकबाट जोडिएका एक प्रखर, जुझारु र बहुआयामिक व्यक्तित्व धाल प्रसाद तिमल्सिनाको भौतिक उपस्थिति अब हामीमाझ रहेन। लामो समयदेखि मृगौला र पित्तथैलीको क्यान्सरसँग जुध्दै आएका तिमल्सिनाको ललितपुरको धापाखेलस्थित आफ्नै निवासमा गत शुक्रबार निधन भयो। उनको निधनको खबरसँगै सिङ्गो दक्षिण ललितपुर शोकमा डुबेको छ र एउटा इतिहासको पाना बन्द भएको महसुस गराएको छ।
तिमल्सिना केवल एक राजनीतिकर्मी वा समाजसेवी मात्र थिएनन्, उनी समयलाई उछिनेर हिँड्न खोज्ने एउटा जोसिलो र जीवित प्रेरणाका स्रोत थिए।
जनसेवाको त्यो लामो यात्रा
तिमल्सिनाको राजनीतिक र सामाजिक यात्रा पञ्चायतकालमै सुरु भएको थियो। विक्रम संवत् २०३६ सालमा तत्कालीन गोटिखेल गाउँपञ्चायतको प्रधानपञ्च भएर उनले लगातार दुई कार्यकाल सम्हाले। जनविश्वास कतिसम्म थियो भने, बहुदलीय व्यवस्था आएपछि पनि २०४८ सालमा उनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट तत्कालीन गाविस अध्यक्षका रूपमा स्थानीय जनताको सेवा गर्ने अवसर पाए।
मन्दिर, अध्यात्म र ज्योतिषशास्त्रका प्रखर साधक
राजनीतिभन्दा पर तिमल्सिनाको अर्को एउटा सामाजिक धार्मिक र आध्यात्मिक पहिचान थियो। महाँकाल ३ स्थित धामीडाँडामा भव्य मन्दिर निर्माण र श्रीकृष्ण प्रणामी सत्संग मन्दिर स्थापनाको अगुवाइ उनैले गरेका थिए। विभिन्न मन्दिरको संरक्षकका रूपमा रहेर उनले लामो समय समाजलाई धार्मिक र आध्यात्मिक चेतनातर्फ मोड्ने काम गरे।यति मात्र होइन, उनी समाजमा एक प्रखर ज्योतिषका रूपमा समेत स्थापित र परिचित थिए। बहुविध संघसंस्थामा आबद्ध भएर सेवा गर्नु उनको दिनचर्या र रुचि दुवै थियो।
ठोस्नेखोलाको घट्टदेखि आधुनिक जीवनशैलीको मोह
तिमल्सिनाको जीवनको सबैभन्दा रोचक र प्रेरणादायी पक्ष भनेको उनको सादा जीवन र आधुनिक सोचको अनौठो संगम थियो। महाँकाल (३ स्थित डोस्नेखोलामा खेतीपाती गर्ने, आफ्नै पसिनाले उब्जाएको अनाज खाने र स्थानीय घट्ट चलाएर बस्ने उनको मौलिक ग्रामीण जीवनशैली थियो। लोठसल्ला सदुवा चियाका बिरुवा हुर्काउदै आध्यात्मिक ज्योतिषीबाको आश्रय स्थल, काठमाडौँ जाने आउने यात्रीहरुको बिश्राम स्थल समेत थियो उनको ठोस्नेखोला,
तर, उमेर ढल्किँदै जाँदा र जीवनको उत्तरार्धमा उनी आधुनिक जीवनशैलीतर्फ उत्तिकै आकर्षित भए। बयोवृद्ध अवस्थामा पुग्दा पनि उनी आफैँ हुइँक्याउँदै मोटरसाइकल हाँकेर कुद्थे। कम्प्युटरका किबोर्डमा औँला नचाउँदै नयाँ कुराहरूको अध्ययन(अनुसन्धान गर्नु उनको नित्य अभ्यास बनिसकेको थियो। नयाँ प्रविधिलाई अङ्गीकार गर्ने उनको यो बानीले युवा पुस्तालाई समेत अचम्ममा पार्ने गर्थ्यो।
कहिल्यै नमिल्ने पूर्णताको शून्यता
गाउँको कुलो, कुलेसो, मन्दिर, पार्टी(पौवादेखि जनताका सुख(दुःखमा सधैँ अग्रपङ्क्तिमा खट्ने तिमल्सिना पछिल्लो समय ललितपुर महानगरपालिका वडा न २४ को धापाखेलमा बसोबास गर्दै आएका थिए। रोगले समातेपछि पनि उनले जीवनप्रतिको आशा र साहस कहिल्यै गुमाएनन्।
आज ढालप्रसाद तिमल्सिना हामीमाझ छैनन्, तर उनले दक्षिण ललितपुरको विकास, समाजसेवा, धर्म-संस्कृति र प्रविधिसँग जोडेको जीवनका पानाहरू सधैँ अमर रहनेछन्।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |