


काठमाडौं : वैदेशिक रोजगार क्षेत्रका नीतिगत तथा व्यावसायिक समस्या समाधान गर्न माग गर्दै म्यानपावर व्यवसायीहरूले सोमबार वैदेशिक रोजगार विभाग, ताहाचलमा धर्ना दिएका हुन् ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आह्वानमा हुने धर्नामार्फत व्यवसायीहरूले सरकारलाई आफ्ना माग तत्काल सम्बोधन गर्न माग गदै धर्ना दिएका हुन् । व्यवसायीहरूले वैदेशिक रोजगारसम्बन्धी कानुन तथा नीतिमा समयानुकूल सुधार, श्रमिकको लागत र व्यवसायीले पाउने सेवा शुल्कको व्यावहारिक पुनरावलोकन, प्रक्रियागत जटिलता हटाउनुपर्ने तथा नियमन र कारबाहीलाई न्यायोचित बनाउनुपर्ने माग राखेका छन्। संघले यसअघि सरकारसमक्ष १५ बुँदे माग प्रस्तुत गरिसकेको छ।
भारतको बाटो हुँदै श्रमिकलाई वैदेशिक रोजगारीमा पठाएको विषयमा विभागले विवरण माग्दै वैदेशिक रोजगार ऐन, २०६४ को दफा २२ उल्लंघनको आरोपमा कारबाही अघि बढाएपछि व्यवसायी थप असन्तुष्ट बनेका हुन्।
माग सम्बोधन नभए वैदेशिक रोजगारीमा श्रमिक पठाउने कार्य रोक्नेसम्मको चेतावनी उनीहरूले दिएका छन्। संघले सरकारसँग तत्काल वार्ता गरी समस्याको समाधान खोज्न आग्रह गरेको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |