काठमाडौँ : नेपालीहरूको महान् चाड बडादशैँअन्तर्गत नवरात्रको दोस्रो दिन सोमबार दशैँ घर तथा पूजा कोठामा नवदुर्गामध्येकी दोस्रो देवी ब्रह्मचारिणीको विधिपूर्वक पूजा आराधना गरिएको छ ।
आइतबार वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखिएसँगै प्रथम देवी शैलपुत्रीको आह्वान र पूजा गरिएको थियो। दोस्रो दिन आज साधक तथा भक्तजनहरूले शक्ति, ऐश्वर्य र विद्या प्राप्तिको कामनासहित ब्रह्मचारिणी देवीको अनुष्ठान गरिरहेका छन्। संसारका समग्र प्राणीलाई सच्चिदानन्द रूप ब्रह्मको बोध गराउन निरन्तर लीन रहने भएकाले यी देवीलाई ब्रह्मचारिणी भनिएको धार्मिक विश्वास छ।
नवरात्रभर देवी थानहरूमा दुर्गा सप्तशती (चण्डी) र श्रीमद्देवीभागवत पाठ गर्ने परम्परा छ। यस अवसरमा काठमाडौँको हनुमानढोकास्थित दशैँ घरका साथै देशभरका प्रमुख शक्तिपीठहरूमा बिहानैदेखि पूजा(आराधना र दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ। आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म गरिने यो विशेष अनुष्ठानको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म ग्रहण गर्ने गरिन्छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |