काठमाडौँ : नवरात्रको तेस्रो दिन आज (मंगलबार) देशभरका दसैँघर तथा पूजा कोठामा नवदुर्गाकी तेस्रो स्वरूप चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिएको छ । शिरमा घण्टा आकारको अर्धचन्द्र धारण गरेकी करुणामयी चन्द्रघण्टाको आराधनाले शक्ति, ऐश्वर्य र सांगीतिकरकला क्षेत्रमा विशेष सफलता प्राप्त हुने धार्मिक विश्वास छ।
मार्कण्डेय पुराणअनुसार आततायी दानवी प्रवृत्तिको नाश गरी भक्तलाई शान्ति र अभय प्रदान गर्ने पहेँलो वर्णकी यी देवीको उपासना गर्दा मणिपुर चक्रमा ध्यान केन्द्रित गरिन्छ।
आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक घटस्थापना गरी सुरु भएको नवरात्रमा दुर्गा सप्तशती (चण्डी) र श्रीमद्देवीभागवत पाठ गर्ने परम्परा छ। यस अवसरमा काठमाडौँ उपत्यकाका गुह्येश्वरी, भद्रकाली, शोभाभगवती, नक्साल भगवतीसहित देशभरका शक्तिपीठहरूमा बिहानैदेखि श्रद्धालुको बाक्लो घुइँचो लागेको छ।
घटस्थापनामा स्थापित जमरा र पूजाको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म ग्रहण गर्दै नेपालीहरूले १५ दिनसम्म बडादसैँ हर्षोल्लासका साथ मनाउने गर्छन्।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |