काठमाडौं : नेपाल प्रहरीको नेतृत्व परिवर्तन गर्ने सरकारको निर्णयले राजनीतिक विवाद चर्काएको छ। प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई हटाएर डा. मनोजकुमार केसीलाई नियुक्त गर्ने निर्णयबारे सरकार र सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूबाट परस्पर विरोधी अभिव्यक्ति आएपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारको आलोचना गरेको छ।
कांग्रेस वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कुनै तथ्य र कारण सार्वजनिक नगरी अपारदर्शी ढंगले आईजीपी हटाइएको भन्दै ‘सिंहदरबार र बालुवाटारमा रमिता चलेको’ टिप्पणी गरेका छन्।
सरकारका प्रवक्ता सस्मित पोखरेलले कार्कीलाई पार्टीको निर्देशनमा हटाइएको बताए पनि रास्वपा प्रवक्ता जगदीश खरेलले त्यसको खण्डन गरेका छन्। खरेलले प्रहरी नेतृत्व परिवर्तनमा पार्टीको कुनै हस्तक्षेप नरहेको दाबी गरेका थिए।
यसैबीच नवनियुक्त आईजीपी केसीले बुधबार गृहमन्त्री सुधन गुरुङबाट दर्ज्यानी चिन्ह ग्रहण गर्दै प्रहरी नेतृत्व सम्हालेका छन्। पदमुक्त कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार नियुक्त गरिएको छ।
सरकार र सत्तारूढ दलका परस्पर विरोधी अभिव्यक्तिले मतदाताको मतको अपमान भएको कांग्रेसको आरोप छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |