


केशवप्रसाद चौलागाईं
कश्यप गोत्रीय घिमिरे बन्धुहरूद्वारा निर्मित ज्योतिर्लिङ्गेश्वर शिव मन्दिरको दर्शन पश्चात् ग्रामीण स्वराज्यको उपयुक्त दैवी आधार स्पष्ट भएको छ। पनौती नगरपालिका वडा नं. ३ घ्याम्पो गाउँस्थित ज्योतिर्लिङ्गेश्वर मन्दिर रमणीय जंगल, पारिलो पाखा, खेतका गर्हाहरू, फुलिरहेका तोरीका सुवर्णमय दृश्य, ग्रामीण जनजीवनको परिवेशले शहरी कोलाहलबाट शान्तिको अनुभूति गराउन सफल देखिन्छ। घिमिरे बन्धुहरूले आफ्नो कुलदेवता स्थलका रूपमा पूज्दै आएको उक्त स्थलमा ज्योतिर्लिङ्गेश्वर शिव मन्दिरको निर्माण पश्चात् नयाँ विकासको सम्भावना पनि बढेको देखिन्छ।
ॐ यो वै रुद्रः स भगवान् यच्च तेजस्तस्मै वै नमो नमः।
जो रुद्र हुन्, उहाँ नै भगवान् हुनुहुन्छ र उहाँ नै तेज हुनुहुन्छ, उहाँलाई बारम्बार नमस्कार गर्दछौँ भन्ने शिवअथर्वशीर्षको भनाइले ज्योतिर्लिङ्गेश्वर भगवानको महत्त्वलाई बुझ्न सकिन्छ। आशापुरी महादेव स्थानबाट माथि उक्लिएर पुगिने यस स्थान सिद्धेश्वर महादेव तथा रुमाल क्षेत्रपाल विन्ध्यवासिनी कुलदेवता मन्दिरका कारणले पनि दैवी महत्त्वका रूपमा अवस्थित रहेको बुझ्न सकिन्छ। नेपालकै प्राचीन शहर पनौती, प्रसिद्ध आशापुरी महादेव, कुशादेवीको प्रसिद्धिसँगै नयाँ निर्माण भएको ज्योतिर्लिङ्गेश्वर मन्दिरले धार्मिक आस्थाका साथै समाज रूपान्तरणमै विशेष योगदान पुर्याउन सक्ने हुँदा पनौती नगरपालिकाको समेत ध्यानाकर्षण गराउन सक्ने देखिन्छ। नयाँ धार्मिक पर्यटनको गन्तव्यसँगै ग्रामीण स्वराज्य अवधारणा अनुरूप नमुना क्षेत्र बन्न सक्नेछ।
शिवो वेदः, वेदो शिवः मान्यताले शिव र वेदलाई पूरकका रूपमा मान्दै आएकोले ऋग्वेदमा व्यवस्था रहेको “स्वराज्य” सँग ज्योतिर्लिङ्गेश्वर शिवको पनि अनन्य सम्बन्ध रहेको छ।
“आ यद् वामीय चक्षसा मित्र वयं च सूरयः। व्यचिष्ठे बहुपाय्ये येते मही स्वराज्ये।।”
अर्थात् विस्तृत र बहुमतद्वारा जसको पालन हुन्छ, त्यस्तो स्वराज्य शासनमा जनताको भलाइका लागि लागि रहौँ भन्ने ऋग्वेदको भनाइले लोकतन्त्र, राष्ट्रियता र समावेशीतालाई सम्बोधन गर्दछ।
नेपालको संविधान तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुरूप स्थानीय सरकारले सुशासनका लागि गर्नुपर्ने प्रशिक्षण र जागरण यस क्षेत्रबाट गर्न सकिने हुँदा ग्रामीण स्वराज्यलाई मूर्तरूप दिन सम्भव हुनेछ। भित्री ग्रामीण क्षेत्रहरू उपेक्षितझैँ देखिनुका साथै स्थानीय जनसमुदायहरू सामान्य सुविधाबाट पनि वञ्चित हुनु परेको अवस्थालाई हटाउँदै उन्नतिको अवस्थामा पुर्याउन ग्रामीण स्वराज्यले मद्दत पुर्याउँछ। नजिकैका पक्की सडक छोएका क्षेत्रहरू विकसित भएका तर आफ्नो क्षेत्रबाट मोटर चढ्न एक घण्टा हिँड्नुपर्ने बाध्यताले हरेक क्षेत्रमा पछाडि पारिरहेको यो स्थानलाई समान स्तरमा पुर्याउन घिमिरे बन्धुहरूको प्रयास सबैका लागि अनुकरणीय बन्नेछ। स्थानीय सरकारले निजी क्षेत्रबाट भइरहेको प्रयासलाई प्रोत्साहन दिँदै आफ्ना जनताको असुविधा हटाउन “ग्रामीण स्वराज्य” को मोडेल अगाडि बढाउन आवश्यक देखिन्छ। निम्न कार्यक्रमहरूको सञ्चालन त्यस स्थानबाट गर्दै सामाजिक रूपान्तरणमा योगदान पुर्याउन सकिन्छ :
१) स्थानीय सरकार : संवैधानिक व्यवस्था र लोकतान्त्रिक अवधारणा।
२) न्यायिक समिति र स्थानीय सरकार : मेलमिलापको मार्गचित्र।
३) स्थानीय तह : कार्यसम्पादन तथा सुशासन।
४) जातीय छुवाछूत उन्मूलनमा धार्मिक क्षेत्रको भूमिका।
५) लोकतन्त्र र संघीयताको संवर्द्धनमा वित्त आयोग।
६) संस्कृति, स्वराज्य र समाजवाद।
७) सम्पदा र शान्ति।
उपरोक्त कार्यक्रममार्फत छायामा पर्न गएको उक्त स्थान सम्पूर्ण नगरको प्रशिक्षणको केन्द्र बन्दै ग्रामीण जनजीवन चलायमान बन्न जानेछ। खेतीपाती र पशुपालनमा आश्रित उक्त स्थल धार्मिक पर्यटन, शासकीय ज्ञान र नेतृत्वकलाको आकर्षक स्थल बन्ने देखिन्छ। नजिकै रहेका राममणि सापकोटाका जेठा छोरा दक्षिण कोरियामा काम गरिरहेका, अन्य दुई छोरा मध्ये माइला स्नातकमा र कान्छा छोरा शैलेश आचार्य होटल म्यानेजमेन्ट अध्ययन गरिएको कुराले स्थानीय जनशक्तिको अभाव नरहेको बुझ्न सकिन्छ। होमस्टे सञ्चालन गर्दै स्थानीय परिकार पर्यटकहरूलाई पस्कन सकिने हुँदा स्वरोजगारको वृद्धि हुन सक्ने देखिन्छ। काठमाडौं, भक्तपुर र ललितपुरका स्थानीय धर्मप्रेमीहरूलाई एकदिवसीय प्याकेज तयार गरी ग्रामीण पर्यटनको आनन्द दिलाउन सकिने हुँदा स्थानीय सरकारले पनि बाटोलगायतका पूर्वाधार निर्माणमा घचघचाउन सकिनेछ।
ज्योतिर्लिङ्गेश्वरको महत्त्व र वर्णन शास्त्रले गरेकोले यहाँस्थित ज्योतिर्लिङ्गेश्वर मन्दिरले सम्पूर्ण सृष्टिका बारे ज्ञान दिन सक्ने हुँदा ऋषि कश्यपसमेतको जानकारी गराउने स्थल बन्नेछ। भारतका प्रसिद्ध १२ ज्योतिर्लिङ्गहरू भ्रमण गर्न नेपालीहरू पनि प्रशस्त मात्रामा जाने गर्दछन्। सोमनाथ, मल्लिकार्जुन, महाकालेश्वर, ओंकारेश्वर, केदारनाथ, भीमाशंकर, काशी विश्वनाथ, त्र्यम्बकेश्वर, वैद्यनाथ, नागेश्वर, रामेश्वरम्, घृष्णेश्वर १२ ज्योतिर्लिङ्गझैँ ज्योतिर्लिङ्गेश्वर सबै नेपालीहरूको गन्तव्य बन्न सक्नेछ। हिमवत्खण्ड, नेपाल महात्म्यमा वर्णन गरिएको ज्योतिर्लिङ्गको उत्पत्ति नामक अध्याय र नेपालस्थित ज्योतिर्लिङ्गहरूको अध्ययन, अनुसन्धान तथा अनुष्ठानको कार्य यस स्थानमा सम्पन्न गर्न सकिने हुँदा त्यसतर्फ सबैको ध्यान जानुपर्छ।
सृष्टि र ऋषि परम्पराका विषयमा अध्ययन अनुसन्धान गर्न कश्यप गोत्रीय घिमिरेहरूद्वारा निर्माण गरिएको यो स्थान उपयुक्त हुने देखिन्छ। ऐतिहासिक पनौती शहरको कथा जस्तै सृष्टि रचनामा महत्त्वपूर्ण योगदान रहेको कश्यप ऋषिको अवस्थितिले सृष्टि, ज्ञान र स्वराज्यका लागि महत्त्वपूर्ण बन्नेछ। वेदमा वर्णन गरिएको नासदीय सूक्त, हिरण्यगर्भ सूक्त तथा पुरुष सूक्तको रहस्यबोध गर्दै सृष्टिका विषयमा पुराणहरूमा वर्णित कथाहरूको यथार्थ बोध गराउने स्थल बन्नेछ। सृष्टिकर्ता ब्रह्माजीका मानसपुत्र मरीचीका पुत्र ऋषि कश्यपले दक्ष प्रजापतिका १३ छोरीसँग विवाह गरी देव, दानव र मानवहरूलाई जन्म दिई सृष्टि संरचनालाई अगाडि बढाउनु भएको थियो। अदिति, दिति, दनु, अरिष्टा, सुरसा, इला, मुनि, क्रोधवशा, ताम्रा, सुरभि, सरमा, तिमी, विनता — यी १३ पत्नीबाटै सबै सृष्टि भएकोले ऋषि कश्यप सबैका लागि आदर्श पुरुषका रूपमा सम्मानित हुनुहुन्छ।
“नासदासीन्नो सदासीत्तदानीं नासीद्रजो नो व्योमा यत्।
किमावरीवः कुह कस्य शर्मन्नम्भः किमासीद्गहनं गभीरम्।।”
प्रलयकालमा न सत् थियो न असत्। त्यस समयमा सबैको आवरण के थियो? कहाँ आश्रय थियो? अगाध र गम्भीर जल के थियो? अर्थात् यी सबै अनिश्चित थिए भन्ने वेदको नासदीय सूक्तको प्रलयकालको अवस्थाबाट देव, दानव, मानव लगायत सम्पूर्ण सृष्टि कसरी सम्भव भयो भन्ने रहस्य खोल्ने ऋषि कश्यपको बारे जानकारी कौतूहलकै विषय हो। रुद्रस्वरूप भगवान् ज्योतिर्लिङ्गेश्वर तथा लक्ष्मीस्वरूपा भगवती विन्ध्यवासिनीको साधना गर्ने सिद्ध क्षेत्रका रूपमा विकास गर्न सकिने यस क्षेत्रमा भगवान् शिवको यथोचित पूजन गर्नाले यो क्षेत्र नै जागृत भएर आउनेछ।
(अन्त्यका समस्त “ॐ यो वै रुद्रः…” मन्त्रहरू मूल भावअनुसार शुद्धरूपमा यथावत् राखिएका छन्।)
देवताहरूले भगवान् शिवको स्तुति गरेको प्रसङ्गले भगवान् ज्योतिर्लिङ्गेश्वरको यस मन्दिर क्षेत्रको महत्त्व अझ बढेर जानेछ। साथै “ह्रीं महालक्ष्म्यै नमः” श्री विन्ध्यवासिनीको महामन्त्रको साधनाले सबै कुलदेवीका उपासकहरूका लागि दर्शनीय स्थल बन्नेछ। मूर्त र अमूर्त सम्पदाहरूको चर्चा बढ्नुका साथै मुख्य तिथि–पर्वमा हुने धार्मिक आयोजनाहरू सबैको चासोको विषय बन्नेछन्। महाशिवरात्रि, कुलपूजा तथा विशेष पूजाहरू नगरकै महोत्सवका रूपमा अभ्यासमा आउनेछन्। मन्दिरसँगै निर्माण गरिएको सभा हल “द्वन्द्व रूपान्तरण र शान्ति स्थापनामा धर्म तथा आध्यात्मिक क्षेत्रको भूमिका” अनुसन्धानको प्रशिक्षण स्थल बनी शान्ति सचिवालयको स्वरूप लिनेछ। ग्रामीण स्वराज्य, सुशासन, समृद्धि र शान्ति प्रतिष्ठानको प्रेरक केन्द्र बन्नेछ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |