


काठमाडौँ : निर्माण क्षेत्रको सुस्त गतिविधि, भुक्तानी समस्या र नीतिगत जटिलताबारे सरकारको धारणा स्पष्ट पार्ने उद्देश्यसहित प्रधानमन्त्री वालेन्द्र शाहले बिहीबार निर्माण व्यवसायीसँग प्रत्यक्ष छलफल गर्दै छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान साढे ११ बजे हुने छलफलमा निर्माण क्षेत्रमा देखिएका व्यवहारिक चुनौती, आयोजनाको कार्यान्वयनमा देखिएका अवरोध तथा सरकारले गर्नुपर्ने नीतिगत सुधारका विषयमा विस्तृत संवाद हुने जनाइएको छ।
छलफलमा नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष निकोलश पाण्डे, वरिष्ठ उपाध्यक्ष मुकेश पन्त, महासचिव शिवहरि घिमिरे, बागमती प्रदेशका उपाध्यक्ष बालकृष्ण थापा तथा महासङ्घका पूर्वअध्यक्ष एवं सल्लाहकार जयराम लामिछाने सहभागी हुनेछन्।
निर्माण व्यवसायीले लामो समयदेखि भुक्तानीमा ढिलाइ, सार्वजनिक खरिद प्रक्रिया, बजेट कार्यान्वयन र निर्माण क्षेत्रको सुस्त बजारबारे सरकारसँग समन्वय र नीतिगत सहजीकरणको माग गर्दै आएका छन्।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |