


काठमाडौँ : विगत ३५ वर्षदेखि राज्यका संयन्त्रमा जरा गाडेको दलीयकरण र बेथिति भत्काउँदै बालेन्द्र शाह नेतृत्वको सरकारले सुशासन र सेवा प्रवाहमा बलियो आधारस्तम्भ खडा गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दाबी गरेको छ। काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै रास्वपा सांसद कमल सुवेदीले निर्वाचनमा जनतासामु गरिएका सय बुँदे वाचा र बजेटबीच ऐतिहासिक तालमेल मिलाएर सरकार अघि बढेको बताएका हुन्।
सांसद सुवेदीका अनुसार सरकारको सय दिने अवधिमा उच्च पदस्थको सम्पत्ति छानबिनदेखि वर्षौंदेखि रोकिएका लाइसेन्स छपाइसम्मका काममा उल्लेख्य प्रगति भएको छ। ‘६२/६३ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न बनेको आयोगमा ११ हजारभन्दा बढी उजुरी संकलन भइसकेका छन् भने सम्पत्ति शुद्धीकरण अन्तर्गत १७ वटा मुद्दा मार्फत १०१ जनामाथि कारबाही प्रक्रिया अघि बढेको छ’,- उनले भने।
त्यस्तै, ४ लाख ४७ हजारभन्दा बढी सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० छपाइ भएको र हुलाकमार्फत नागरिकता तथा पासपोर्ट घरदैलोमै पुर्याउने अभियान थालिएको उनले जानकारी दिए।
चुनावअघिका ५ वटा करारपत्रकै जगमा सरकारको नीति तथा कार्यक्रम आएको दाबी गर्दै सुवेदीले भने, ‘विश्वविद्यालयदेखि राजदूत नियुक्तिसम्ममा पुरानो सेटिङ भत्काएर प्रतिस्पर्धा (मेरिटोक्रेसी) लागू गरिएको छ’। त्यस्तै, करिब १२ लाख सुकुम्बासी र भूमिहीनको समस्या ५०० दिनभित्र समाधान गर्ने लक्ष्यसहित बर्दियाबाट वितरण कार्य सुरु भइसकेको उनले बताए। यो सय दिनलाई सरकारको नीति, गति र स्पष्ट दिशाको संकेतका रूपमा बुझ्नुपर्ने रास्वपाको भनाइ छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |