


काठमाडौँ : सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न परिस्थितिप्रति सरकारले गम्भीर ध्यानाकर्षण जनाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मंगलबार विज्ञप्ति जारी गर्दै सबै पक्षलाई संयमता अपनाउन, सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न र भ्रामक सूचना नफैलाउन आग्रह गरेको हो।
प्रधानमन्त्री कार्यालयका सहसचिव एवं प्रवक्ता हेमराज अर्यालद्वारा जारी विज्ञप्तिअनुसार घटनामा घाइते भएकाहरूको निःशुल्क उपचारको व्यवस्था स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले गर्नेछ। घटनाको सत्यतथ्य छानबिन गरी भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक उपायसहित सात दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारीसहित गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको पनि जनाएको छ।
सरकारले पीडितलाई उचित क्षतिपूर्ति उपलब्ध गराउने र दोषीमाथि कडा कानुनी कारबाही गर्ने प्रतिबद्धता दोहोर्याउँदै हिंसा कुनै पनि समस्या समाधानको माध्यम हुन नसक्ने स्पष्ट गरेको छ। साथै धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी एकता जोगाउन सबै राजनीतिक दल, नागरिक समाज, धार्मिक संघसंस्था, सञ्चारमाध्यम तथा आमनागरिकलाई जिम्मेवार भूमिका निर्वाह गर्न आह्वान गरेको छ।


हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |