


काठमाडौँ : मार्क्सवादी चिन्तनमा बहसमा ल्याइने ‘द्वन्द्वात्मक विधि’ (डाइलेक्टिक मेथड) लाई विश्लेषक बुद्ध छिरिङ मोक्तानले ‘बुद्धिहीनहरूको विधि’ को संज्ञा दिएका छन्। संस्कृतको ‘वादे वादे जायते तत्वबोध’ र हेगेल वा मार्क्सले अघि सारेको द्वन्द्ववादका सिद्धान्तबीच मौलिक भिन्नता रहेको तर्क गर्दै उनले मार्क्सवादी वैचारिक जगमाथि नै गम्भीर प्रश्न उठाएका हुन्।
काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै मोक्तानले पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईलाई यस विषयमा खुला शास्त्रार्थका लागि चुनौतीसमेत दिए। ‘मार्क्सवादी अवधारणाको थेसिस, एन्टी-थेसिस र सिन्थेसिसको प्रक्रिया वैज्ञानिक नभई एब्सर्ड (अस्वाभाविक) छ,’ मोक्तानले भने, -‘नेपालमा द्वन्द्वात्मकताका नाममा वैचारिक भ्रम छरिएको छ। म बाबुरामजीलाई यो सवालमा जुनसुकै मञ्चमा शास्त्रार्थ गर्न चुनौती दिन्छु।’
मार्क्सवादी सिद्धान्तका नाममा गरिएको ध्वंस र हिंसाको राजनीतिक जवाफदेही तत्कालीन कम्युनिस्ट नेतृत्वले लिनुपर्ने उनले बताए। १० जन्ममा पनि पखालिन नसकिने राजनीतिक पापको भागीदार तत्कालीन माओवादी नेतृत्व भएको उनको आरोप थियो।
विचार र निकासका लागि द्वन्द्वात्मक होइन, ‘संवादात्मक विधि’ (डायलोजिकल मेथड) नै वास्तविक वैज्ञानिक बाटो भएको मोक्तानले स्पष्ट पारे। शब्दको शाब्दिक अर्थभन्दा पनि गहिरो आशयमा पुगेर संवाद गर्नु नै समाजको आगामी बाटो हुने उनको भनाइ थियो।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |