


काठमाडौँ : बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याउने सरकारको तयारीलाई नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आत्मनिर्भर अर्थतन्त्र निर्माणतर्फको सकारात्मक कदमका रूपमा स्वागत गरेका छन्। उद्योग सञ्चालनमा आए कपडा आयातमा रहेको निर्भरता घट्नुका साथै राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान पुग्ने उनले बताएका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै प्रचण्डले उद्योग पुनः सञ्चालनको तयारीप्रति सरकारलाई धन्यवाद दिएका छन्। आफू प्रधानमन्त्री हुँदा हेटौँडा कपडा उद्योगको सम्भाव्यता अध्ययन गरी प्रतिवेदनसमेत तयार गरिएको उनले स्मरण गरेका छन्।
उनका अनुसार सोही अध्ययनका आधारमा आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा हेटौँडा कपडा उद्योगसँगै गोरखकाली रबर उद्योग, विराटनगर जुट मिल र बुटवल धागो कारखानालगायत सार्वजनिक उद्योग पुनः सञ्चालन गर्ने विषय अघि बढाइएको थियो। सरकार परिवर्तनसँगै रोकिएको प्रक्रिया पुनः अघि बढ्नु सुखद भएको उनको भनाइ छ।
प्रचण्डले आधुनिक प्रविधि, व्यावसायिक व्यवस्थापन र स्पष्ट कार्ययोजनासहित सम्भावना भएका सार्वजनिक उद्योग पुनः सञ्चालन गर्न सके उत्पादन वृद्धि, आयात न्यूनीकरण र रोजगारी सिर्जनामा योगदान पुग्ने बताए। उनले सरकारलाई प्रक्रिया परिणाममुखी बनाउन आग्रह गरेका छन्।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |