काठमाडौँ : पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि भ्रष्टाचारसम्बन्धी अर्को मुद्दा अघि बढेको छ । विराटनगर क्षेत्रको सार्वजनिक जग्गा मन्त्रिपरिषद्को निर्णयबाट छुट दर्ता गराएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध विशेष अदालतमा मुद्दा पेस गरेको हो ।
अख्तियारले सार्वजनिक जग्गा छुट दर्ता प्रक्रियामा गम्भीर अनियमितता भएको दाबी गर्दै त्यससम्बन्धी मिसिल विशेष अदालतमा बुझाएको जनाएको छ । हाल उक्त मुद्दा अदालतमा दर्ताअघि रुजु हुने प्रक्रियामा रहेको छ ।
मन्त्रिपरिषद्को निर्णयमार्फत सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता गराउने प्रक्रियामा नेपालको संलग्नता रहेको अख्तियारको आरोप छ ।
यसअघि पनि नेपालविरुद्ध पतञ्जली योगपीठको जग्गा दर्ता तथा हस्तान्तरणसम्बन्धी भ्रष्टाचार मुद्दा विशेष अदालतमा विचाराधीन छ । पछिल्लो प्रकरणसमेत अदालत प्रवेश गर्ने प्रक्रियामा पुगेपछि पूर्वप्रधानमन्त्री नेपालमाथि कानुनी चुनौती थपिएको छ ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |