काठमाडौं : नेपाल प्रहरीको नेतृत्व सम्हालेसँगै नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीले बुधबार दर्ज्यानी चिन्ह ग्रहण गरेका छन्। गृह मन्त्रालयमा आयोजित औपचारिक कार्यक्रममा गृहमन्त्री सुधन गुरुङले केसीलाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन् ।
यसअघि प्रहरी महानिरीक्षकलाई गृहसचिवले दर्ज्यानी चिन्ह प्रदान गर्ने परम्परा रहे पनि यसपटक गृहमन्त्री स्वयंले उक्त जिम्मेवारी निर्वाह गरेका छन्।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले तत्कालीन आईजीपी दानबहादुर कार्कीलाई पदबाट हटाउँदै एआईजी केसीलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो।
सरकारले पदमुक्त कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको छ। दर्ज्यानी चिन्ह ग्रहण गरेसँगै केसीले औपचारिक रूपमा नेपाल प्रहरीको सर्वोच्च नेतृत्व सम्हालेका छन्।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |