काठमाडौं : भारतले नेपालको विकास र समृद्धिमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता दोहोर्याएको छ। औपचारिक भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले बिहीबार सिंहदरबारमा प्रधानमन्त्री बालेन शाहसँग शिष्टाचार भेट गर्दै द्विपक्षीय सहकार्य विस्तारमा भारतको चासो व्यक्त गरेका हुन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपाल-भारत सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो। त्यसक्रममा दुई देशबीचको व्यापार, पूर्वाधार विकास तथा कनेक्टिभिटी विस्तारका विषयले प्राथमिकता पाएका थिए।
विदेश सचिव मिश्रीले नेपालको विकास प्रयासमा भारतको निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन्। दुई देशबीच विद्यमान ऐतिहासिक सम्बन्धलाई थप उचाइमा पुर्याउन आपसी हितका क्षेत्रमा सहकार्य बढाउनुपर्नेमा पनि जोड दिइएको छ।
बुधबार काठमाडौं आइपुगेका मिश्रीको भ्रमण दुईदिने छ। उनको भ्रमणलाई नेपाल–भारत सम्बन्धका विविध पक्षमा संवाद अघि बढाउने अवसरका रूपमा हेरिएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |