काठमाडौँ : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वामपन्थी ध्रुवीकरणलाई तीव्रता दिन नेकपा एमालेसँग तीनबुँदे र नेकपा मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारिएको खुलासा गरेका छन्।
शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै दाहालले विगतमा कम्युनिष्ट एकता जोगाउन नसकिए पनि एक पटकको असफलताले अभियान नरोकिने बताए। अन्य कम्युनिष्ट घटकहरूसँग समेत निरन्तर संवाद भइरहेको जानकारी दिँदै उनले विचार, राजनीति र सिद्धान्तमा एकरूपता कायम गरी कार्यगत एकता विस्तार गर्नुपर्नेमा जोड दिए।
‘कम्युनिष्ट एकताको झण्डालाई अझ माथि उठाउने लक्ष्यसहित हामी अघि बढेका छौँ,’ उनले भने। दाहालले शान्ति सम्झौता र संविधानसभाका सहयात्री तथा संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर शक्तिहरूसँग संयुक्त मोर्चा निर्माणका लागि सकारात्मक छलफल भइरहेको समेत उल्लेख गरे।
साथै, दोस्रो विश्वयुद्धपछि स्थापित अन्तर्राष्ट्रिय संरचना कमजोर भई विश्वमा नयाँ ध्रुवीकरण बढेको औँल्याउँदै उनले बदलिँदो परिस्थितिमा अन्तर्राष्ट्रिय शक्तिहरूसँगको संवाद र सम्बन्ध विस्तारमा नेपालको भूमिका प्रभावकारी बनाउन पहल भइरहेको बताए।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |