काठमाडौँ : मलेसिया रोजगारीका नाममा नेपाली श्रमिक ठगिएको प्रकरणमा पक्राउ परेका पूर्वमुख्यसचिव एकनारायण अर्याललाई शुक्रबार म्याद थपको प्रक्रिया अघि बढाउन सरकारी वकिल कार्यालय पुर्याइएको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई बिहीबार नेपाल- भारत सीमा क्षेत्रबाट पक्राउ गरेको थियो। सीमा क्षेत्रबाट नियन्त्रणमा लिइएपछि थप सोधपुछ र अनुसन्धानका लागि काठमाडौं ल्याइएका अर्याललाई शुक्रबार सरकारी वकिल कार्यालयमा उपस्थित गराइएको हो।
वैदेशिक रोजगारीका क्रममा मलेसिया जाने श्रमिकहरूमाथि भएको ठगी प्रकरणमा संलग्नताको आरोपमा उनीमाथि अनुसन्धान केन्द्रित छ। सरकारी वकिल कार्यालयको प्रक्रिया पूरा गरेपछि उनलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा पेस गर्ने तयारी गरिएको प्रहरी स्रोतले जनाएको छ।
प्रशासनको उच्च तहमा रहिसकेका व्यक्ति नै वैदेशिक रोजगार ठगी प्रकरणमा पक्राउ परेको यो घटनालाई अनुसन्धान निकायले गम्भीर रूपमा लिएको छ। घटनाबारे थप विवरण र अदालतको आदेश आउन बाँकी छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |