काठमाडौँ : बिनाअध्ययन नेवार समुदायका ४० थरलाई दलित सूचीमा समावेश गरिएको भन्दै काठमाडौँको असन डबलीमा शनिबार विरोध प्रदर्शन गरिएको छ। प्रदर्शनकारीहरूले वैज्ञानिक अनुसन्धान र समुदायसँगको छलफलबिनै हचुवाका भरमा गरिएको निर्णय तत्काल सच्याउन माग गर्दै दलित आयोग खारेजीको समेत आवाज उठाएका छन्।
प्रदर्शनमा सहभागी नेपाली काँग्रेसका काठमाडौँ महानगर सभापति सुसन वैद्यले नेवार समुदायमा दलित वर्ग नरहेको स्पष्ट पार्दै सरकारले समाज भाँड्ने काम गरेको आरोप लगाए। निर्णय नसच्चिए कडा आन्दोलनमा उत्रिने उनको चेतावनी थियो।
यस्तै, काँग्रेस केन्द्रीय सदस्य डा। अमिता प्रधान शाक्यले जीवित देवीको थरसमेत दलित सूचीमा पारिनु सांस्कृतिक पहिचानमाथिको आक्रमण भएको बताइन्। अर्की केन्द्रीय सदस्य सपनाराज भण्डारी जोशीले बिनापरामर्श राजपत्रमा सूचना निकाल्दा समुदायको आत्मसम्मानमा ठेस पुगेको उल्लेख गरिन्। प्रदर्शनकारीहरूले ‘ऐतिहासिक तथ्य र पहिचानको सम्मान गर्’ लगायतका प्लेकार्ड बोकेका थिए।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |