चितवन : नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोलामा पहिरो नियन्त्रणका लागि विशेष प्रविधिबाट काम गरिने भएपछि आजदेखि दैनिक पाँच घण्टा सवारी आवागमन रोकिने भएको छ। पहिरोको दीर्घकालीन समाधान खोज्न सडक डिभिजन कार्यालय भरतपुरले रोकथामको काम अघि बढाउन लागेको हो।
जिल्ला प्रशासन कार्यालय चितवनले अर्को सूचना जारी नभएसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सडक बन्द गर्ने निर्णय गरेको छ। उक्त समयमा सबै प्रकारका सवारीसाधनको आवागमन रोकिने सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माले जानकारी दिए।
तुइनखोलामा पहिरो खस्ने क्रम नरोकिएपछि ढुंगा पन्छाउने, भिरको स्लोप व्यवस्थापन गर्ने र नेलिङ प्रविधिबाट पहिरो प्रभावित क्षेत्रलाई बलियो बनाउने तयारी गरिएको छ। साथै पानी निकासका लागि होरिजोन्टल ड्रेन र बायोइन्जिनियरिङ प्रविधिसमेत प्रयोग गरिनेछ।
सडक डिभिजन भरतपुरका अनुसार कामका लागि कम्तीमा १५ दिन लाग्ने अनुमान छ। यस अवधिमा काठमाडौँ–मुग्लिङ–आँबुखैरेनी हुँदै पोखरा जाने पृथ्वी राजमार्ग भने सञ्चालनमा रहनेछ। प्रशासनले यात्रुलाई समयअनुसार यात्रा व्यवस्थापन गर्न आग्रह गरेको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |