

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले बलात्कार र हत्या जस्ता जघन्य अपराधमा संलग्नलाई कडा कारबाही गर्ने गरी कानुन संशोधन गर्न सरकारसँग माग गरेका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाहीले बलात्कारपछि हत्या भएका घटनासम्बन्धी प्रचलित कानुन अपर्याप्त रहेको औँल्याए। उनले कानुन संशोधनको मस्यौदा तयार गरी तत्काल संसद्मा पेस गर्न सरकारको ध्यानाकर्षण गराए। सत्तापक्ष र प्रतिपक्षको विभेद नगरी सर्वसम्मत रूपमा यस्तो कानुन संशोधन गरी पारित गर्नुपर्नेमा उनले जोड दिए।
फरक प्रसंगमा, विदेशी स्याउको अनियन्त्रित आयातले स्वदेशी उत्पादनले बजार नपाएको भन्दै उनले चिन्ता व्यक्त गरे। भदौ र असोज महिनामा विदेशबाट स्याउ आयातमा पूर्ण रोक लगाउन कृषिमन्त्रीलाई आग्रह गर्दै शाहीले जुम्लाको स्याउ उत्पादन प्रवर्द्धन गर्न सरकारले विशेष लगानी गर्नुपर्ने आवश्यकता औँल्याए।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |