काठमाडौँ : बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ को अवशेषको प्रभावले देशका विभिन्न स्थानमा वर्षा र हिमपात भएको छ। पछिल्लो २४ घण्टामा मनाङको ताल मौसम मापन केन्द्रमा सबैभन्दा बढी १०४.४ मिलिमिटर वर्षा मापन भएको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त अवधिमा देशका अधिकांश स्थानमा मध्यम वर्षा भएको छ। गण्डकीका केही तथा मधेस र कर्णालीका थोरै स्थानमा भारी वर्षा भएको महाशाखाले जनाएको छ।
चक्रवातको प्रभाव आज अपराह्नदेखि क्रमशः कमजोर हुँदै जाने अनुमान गरिएको छ। दिउँसो कोसी, मधेस र बागमतीका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा केही स्थानमा भारी वर्षाको सम्भावना छ।
गण्डकीसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा पनि वर्षा र हिमपात हुन सक्नेछ। रातिदेखि भने वर्षाको क्रम घट्दै जाने र मौसममा क्रमिक सुधार हुने महाशाखाको पूर्वानुमान छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |